बारा,२८ साउन । काठमाडौं जिल्ला अदालतले वैयक्तिक गोपनीयता हनन्सम्बन्धी कसुरमा अनुसन्धानका लागि जनआस्था साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले प्रहरीलाई म्याद थपको अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरी टोलीले बुधबार राति ललितपुरस्थित उनको निवास नजिकैबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार एक महिलाको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई नियन्त्रणमा लिइएको हो। घटनाको अनुसन्धानका लागि प्रहरीले उनको निवास तथा झम्सीखेलस्थित जनआस्थाको कार्यालयमा पुगेर विद्युतीय उपकरण र कागजातहरूसमेत नियन्त्रणमा लिएको छ।
यता नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिल नेपाल लगायतका सञ्चार संस्थाहरूले समाचार सङ्कलन र प्रकाशनको विषयलाई लिएर प्रहरीले गरेको पक्राउ र कार्यालय खानतलासीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै विरोध जनाएका छन्।




