बारा, २९ साउन । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई भदौ १ गते सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो। अदालतले श्रेष्ठलाई उपस्थित गराउनुका साथै प्रहरीले उनको घरबाट बरामद गरेका दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट नियन्त्रणमा लिएका सीपीयू, कम्प्युटर समेत अदालतमा पेस गर्न निर्देशन दिएको छ।
श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरिएको थियो, जसमा श्रेष्ठका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए। यसअघि बिहीबार नै जिल्ला अदालत काठमाडौँले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई श्रेष्ठविरुद्ध तीन दिनको हिरासत म्याद दिएको थियो।
एक महिलाको जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकैबाट नियन्त्रणमा लिएको थियो र सोही राति घर तथा बिहीबार बिहान जनआस्थाको कार्यालयमा खानतलासी गरेको थियो। हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतसमक्ष पेस गरिनेछ।




