बारा, २९ साउन । बाराको महागढीमाई नगरपालिकाका दुई फरक-फरक वडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी र ठूलो परिमाणको कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ।
आज शुक्रबार बिहान महागढीमाई नगरपालिका वडा नं. ३ स्थित ग्वास टोल र वडा नं. १० गंजभवानीपुर गाउँमा गैरकानुनी रूपमा घरेलु मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
विशेष सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवल किशोर साहको कमाण्डमा १३ जना गरी १६ जनाको संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीको संयुक्त टोलीले मदिरा उत्पादन स्थलमै पुगी करिब १० हजार लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा भट्टीहरू सोही स्थानमा नष्ट गरेको छ। साथै, मदिरा उत्पादनमा प्रयोग गरिएका सानो साइजका ११ थान प्लास्टिकका ड्रम र १ थान टिनको ड्रम नियन्त्रणमा लिई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएको छ।




