बारा, ३० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्जका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न संघीय सरकारका तर्फबाट आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
मधेश प्रदेशमा पर्यटनको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्याहरूबारे स्थलगत अध्ययनका क्रममा पर्सा आएका मन्त्री पौडेलले निकुञ्जका अधिकारी, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूसँग छलफल गरेका थिए।
छलफलका क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले भौतिक पूर्वाधारको कमी, न्यून प्रचारप्रसार, सफारी गाडीको अभाव र पानीको समस्याका कारण निकुञ्जले सम्भावना अनुसार पर्यटक आकर्षित गर्न नसकेको ध्यानाकर्षण गराएका छन्।
सरोकारवालाका सुझाव सुनेपछि मन्त्री पौडेलले भारतीय सीमा नजिकै भएर पनि पर्सा निकुञ्ज ओझेलमा परेको स्वीकार गर्दै संघीय, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, लगानीको वातावरण र प्रचारप्रसारलाई प्राथमिकता दिएर यसलाई स्थापित गरिने स्पष्ट पारे।




