बारा, ३० साउन । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने बताएकी छन्।
लहान पुगेकी मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण तथा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा समय लाग्ने भएकाले नागरिकलाई तत्काल राहत दिन युनिटमार्फत सेवा सुरु गर्न लागिएको स्पष्ट पारिन्।
लहान अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक र आँखा अस्पताल जस्ता आवश्यक पूर्वाधार तयार रहेको उल्लेख गर्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली खटाएर सेवा सञ्चालन गरिने प्रतिबद्धता जनाइन्।
स्वास्थ्य बीमा तथा औषधि आपूर्तिको विषयमा स्पष्ट पार्दै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको र निजी अस्पतालमा रोकिए पनि सरकारी अस्पतालमा सेवा यथावत रहेको जानकारी दिइन्।
करिब ९३ प्रतिशत नागरिक सरकारी अस्पतालमै निर्भर रहने तथ्यांक प्रस्तुत गर्दै उनले बीमाका अवैज्ञानिक प्याकेजहरूको पुनरावलोकन भइरहेको र १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको बताइन्।
साथै, तराई क्षेत्रमा देखिएको सर्पदंशको औषधिको अभाव सम्बोधन गर्न काठमाडौँ आइपुगेको ८ हजार ५ सय भायल ‘एन्टी स्नेक भेनम’ आइतबारदेखि देशैभर वितरण सुरु गरिने जानकारी दिँदै उनले कुनै पनि क्षेत्रमा औषधिको अभाव हुन नदिने आश्वासन दिइन्।




