बारा, ०१ भदौ । बाराको कोल्हबी नगरपालिका–५ सखुहवा क्षेत्रबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ र पाँचवटा साइकल बरामद गरेको छ।
विशेष सूचनाका आधारमा कोल्हबी सब–डिभिजन वन कार्यालयका अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको टोलीले राति निगरानी गर्दा पाँचवटा साइकलमा लोड गरिएको करिब २० क्युफिट परिमाणको पाँच थान सालको गोलिया फेला पारेको हो।
वन टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर चौतर्फी अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाका अनुसार बरामद गरिएको काठ र साइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सम्बन्धित वन कार्यालयमा राखिएको छ।
उक्त काठ कुन वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको हो र यसमा क-कसको संलग्नता छ भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको छ। डिभिजन वन कार्यालय बाराले क्षेत्रमा हुने अवैध रूख कटान र काठको तस्करी नियन्त्रण गर्नका लागि नियमित गस्ती र सूचनामा आधारित निगरानीलाई अझ तीव्र र प्रभावकारी बनाइने जनाएको छ।




