बारा, ०२ भदौ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो। टोलीका सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन्।
यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा सरकारी प्रतिनिधि र महाअभियानका प्रतिनिधिबीच गहन छलफल भएको थियो। उक्त छलफलका क्रममा महाअभियानको मागबमोजिम सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।
सरकारको वार्ता आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिहरूले वार्ताको आधिकारिक पत्रसमेत ग्रहण गरिसकेका छन्। उक्त प्रारम्भिक छलफलमा महाअभियानका तर्फबाट प्रतिनिधिहरू विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी थिए।




