बारा, ०३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयवासी आक्रोषित बनेका छन्।
घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै आक्रोशित स्थानीयले बुधबार बिहानैदेखि पथलैया-वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध पारेका छन्।
साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ स्थानीय एक खाली घरभित्र भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई चकलेटको प्रलोभन देखाएर जबर्जस्ती करणी गरी हत्या गरिएको खुलासा गरेपछि स्थानीयवासी आन्दोलित बनेका हुन्।
स्थिति नियन्त्रणमा लिन र सडक सुचारु गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा म्याजिकका सह-चालक सुमन थापासहित सवारी धनी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।




