बारा, ०३ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ मा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकार र गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै सांसद रहबर अन्सारीले घटनामा ईलाका प्रहरी कार्यालय सिमरा र सम्बन्धित प्रहरी अधिकारीहरूको गम्भीर लापरवाही रहेको आरोप लगाए।
बालिका हराएको जानकारी गराउँदा पनि प्रहरीले समयमै प्रभावकारी खोजतलास नगरेको र ७२ घण्टापछि मात्रै कुकुरसहित टोली परिचालन गरिएको भन्दै उनले दोषी प्रहरी अधिकारीमाथि कारबाही गर्न तथा प्रहरीको कार्यशैली पारदर्शी बनाउन माग गरे।
त्यसैगरी, अर्का सांसद अरविन साहले पनि अबोध बालिकाको विभत्स हत्याले सम्पूर्ण क्षेत्र स्तब्ध भएको उल्लेख गर्दै घटनाका दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए।
बालिका तथा महिला सुरक्षाका लागि सडक बत्ती, सीसीटीभी क्यामेरा लगायतका सुरक्षा पूर्वाधार र प्रहरीलाई आवश्यक प्रविधि हस्तान्तरण गर्नुपर्ने बताउँदै सांसदहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रदेश तथा संघ सरकारलाई विशेष सुरक्षा रणनीति अपनाउन आग्रह गरेका छन्।




