बारा, ०५ भदौ । बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको दुःखद घटनालाई लिएर उत्पन्न तनाव अन्ततः गएराती भएको ५ बुँदे सहमतिपछि साम्य भएको छ।
भाद्र २ गते घटेको उक्त घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबीच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता भएको थियो।
लामो वार्ता पछि दुवै पक्षबीच ५ बुँदे सहमति कायम भएसँगै चरणबद्ध रूपमा भइरहेका सबै आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको छ।
बैठकले पीडित परिवारलाई उचित राहत र रोजगार व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने निर्णय गरेको छ।
यसका साथै, घटनामा संलग्न संदिग्धहरू हाल प्रहरी हिरासतमा रहे पनि अनुसन्धानका क्रममा अन्य कसैको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि नियमानुसार कडा कारबाही अघि बढाउने सहमति भएको छ। सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन जिल्लाको वर्तमान र भविष्यका सुरक्षा चुनौतीहरूको विश्लेषण गरी भरपर्दो वातावरण मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ।
साथै, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा लापरबाही देखाउने सुरक्षाकर्मीहरूलाई आवश्यक कारबाही गर्ने माग पूरा भएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन्।




