बारा, ०६ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर सुरु भएको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्ड आज शनिवार चौंथो दिन पनि ठप्प बनेको छ।
गत बुधबार बिहान ११ बजेदेखि बन्द भएको उक्त मुख्य राजमार्गमा स्थानीयवासी तथा पिडित पक्षले सडकमै टेन्ट टाँगेर धर्ना र नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारीहरूले “हामीलाई न्याय चाहियो”, “अपराधीलाई फाँसी दे”, “अपराधीलाई उम्काउन पाइँदैन” र “गरिमालाई न्याय दे” भन्दै नाराबाजीसहित विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति भए पनि मृतक बालिकाका परिवारले सो सहमति अमान्य रहेको घोषणा गरेका छन्।
सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख (डीएसपी) दिलिप क्षेत्रीको सरुवा र कारबाहीको माग गरेका स्थानीय तथा परिवारजनले मध्यरातमा आफूहरूको अनुपस्थितिमा गरिएको सहमति नमान्ने भन्दै आन्दोलन जारी राखेका हुन्। अहिले पनि जीतपुरसिमरा उपमहानगरपालिका लगायत बाराका विभिन्न स्थानबाट मानिसहरू सडकमा उत्रिएर चर्को घामको प्रवाह नगरी विरोध प्रदर्शनमा सहभागी भइरहेका छन्।
मृतक बालिकाको शव अझै पनि कलैया अस्पतालमै राखिएको छ भने परिवारजनले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। स्थानीयको निरन्तरको सडक धर्नाका कारण सो क्षेत्रको यातायात व्यवस्था निकै प्रभावित बनेको छ।






