काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएकाहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीमा परी घाइते भएका बारा र वीरगञ्जका दुईजनासहित काठमाडौँ र रसुवाका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँस्थित विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ।
वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट विदुर–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरुष, नामथर खुल्न नसकेका एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ।
गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। उहाँसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ।
यस्तै गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रसुवा अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये वीरगञ्जका सागर सहनी तथा बाराका उपेश चौधरी र रोहन चौधरी पनि रहेका छन्। उनीहरूसहित रसुवा अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ।
रसुवा अस्पतालमा उपचाररत अन्य घाइतेमा जुम्लाका रमेशबहादुर बुढा र चन्द्रबहादुर बुढा, सर्लाहीका ज्ञानबहादुर थिङ, सिन्धुलीका श्यामलाल मोक्तान, जुम्लाका तीर्थबहादुर बुढा, अछामका उमेश रावल, धुन्चेका राजु तामाङ, मकवानपुरका भुवनसिंह पाख्रिन, मार्खुका नीमा ग्याल्बो घले, सिन्धुपाल्चोकका तीर्थबहादुर कार्की, सानोहाकुका सुकुमान कामी, स्यार्फुका प्याल्याङ शेर्पा, रेजिन शेर्पा, मिसान तामाङ, प्रतिमा लामा, स्यार्फुका फुर्वा योन्जन तामाङ तथा टिमुरेका नीमा कर्म र धुम्पु घले रहेका छन्।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ भने घाइतेहरूको अवस्था र उद्धारसम्बन्धी थप विवरण संकलन भइरहेको छ।



