बारा, ११ भदौ । रसुवा जिल्लामा आएको बाढीपछि जारी उद्धार कार्यका क्रममा हालसम्म १६२ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको आज बिहिबार बिहान ५ बजेसम्मको विवरण अनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लाहरूमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी (पूर्व) मा २६ र नवलपरासी (पश्चिम) मा २ जनाको शव भेटिएको छ।
बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ, जसमध्ये त्रि.वि. शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, बीरेन्द्र सैनिक अस्पतालमा १, ग्रिन सिटीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशुली अस्पतालमा ९ जना रहेका छन्।
उद्धार तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ३,३१८ जना प्रहरी परिचालन गरिएको छ। विपद्का क्रममा विभिन्न प्रहरी युनिटका गरी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन (बेपत्ता) रहेका छन्। हालसम्म सम्पर्कमा आएका प्रहरीहरूमा इलाका प्रहरी कार्यालय टिमुरेका २३ मध्ये १३ जना, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेंसीका ८ मध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० मध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ मध्ये ५ जना रहेका छन्। बेपत्ता प्रहरी तथा अन्य नागरिकको खोजी कार्य निरन्तर जारी छ।



