बारा, ११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको ठूलो क्षतिपछि भारतले नेपाललाई सहायता तीव्र पारेको छ ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई चरणको मानवीय सहायता सामग्री पठाइसकिएको र अब आवतजावत सहज बनाउन बेलिब्रिज पठाउने तयारी भइरहेको जानकारी दिए। बाढीले नदी तटीय क्षेत्रमा २२ पक्की र ५ वटा बेलिब्रिज भत्काएपछि उत्पन्न यातायात अवरोध हटाउन भारतले नेपालको माग बमोजिम सहयोग गर्न तत्परता देखाएको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भएको टेलिफोन कुराकानीमा पनि विपद्को यस संकटपूर्ण घडीमा भारत नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसैबीच, बाढी र विनाशका कारण हालसम्म २८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको खोजी तथा उद्धारका लागि पहल भइरहेको विदेश मन्त्रालयले जनाएको छ।



