बारा, १२ भदौ । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थल छेउमा बनेको ठूलो ताल फुटेको छ।
चिनियाँ अधिकारीहरूले उक्त ताल फुटेको औपचारिक जानकारी दिएपछि रसुवा जिल्ला प्रशासनले नेपालतर्फका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार ताल फुटेर पानीको विशाल बहाव तलतिर बग्न थालेकाले नदी किनाराका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न सर्कुलर गरिसकिएको छ। तिब्बतमा उद्गम भई नेपाल प्रवेश गर्ने यी नदीहरू भोटेकोशी र त्रिशूली नदी प्रणालीका मुख्य सहायक स्रोत हुन्।
बिहीबारसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र चीनको जलस्रोत मन्त्रालयले यसलाई उच्च जोखिमयुक्त मान्दै लगातार निगरानी गरिरहेको थियो। ताल फुट्दा त्रिशूली र भोटेकोशी करिडोरमा भीषण बाढी र कटानको खतरा बढेकाले नदी आसपासका बासिन्दा, यात्रु तथा उद्धार टोलीहरूलाई विशेष सजगता अपनाउन आग्रह गरिएको छ।



