काठमाडौं, १३ भदौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङसहितका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएपछि सरकारले उद्धार, खोजी, उपचार, राहत र पुनःस्थापनालाई तीव्रता दिएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको विवरणअनुसार, प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद आज साँझ साढे ५ बजेसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको जनाइएको छ।
उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ।
घाइतेहरूको उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालसँगै रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ। धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा समेत विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य सेवा प्रदान भइरहेको छ। घाइते तथा परिवारका सदस्यलाई मनोपरामर्शसमेत दिइएको सरकारको भनाइ छ।
बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकका लागि विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत शिविर सञ्चालनमा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
सरकारका अनुसार प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको जनाइएको छ। सरकारले आर्थिक सहयोग गर्दा आधिकारिक ‘क्यूआर कोड’ तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषका खातामार्फत मात्रै सहयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। एडीबी, विश्व बैंक, अमेरिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्डलगायतका देश तथा संस्थाबाट आर्थिक, प्राविधिक तथा मानवीय सहयोगको प्रतिबद्धता आएको सरकारले जनाएको छ।
बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा ल्याइएको छ। नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावर प्रभावित भएकोमा हालसम्म नेपाल टेलिकमका ९० तथा एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन्।
सडकतर्फ काठमाडौं–टोखा–छहरे हुँदै धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारी सञ्चालन हुने गरी मर्मत गरिएको छ। यससँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ। गल्छी–मलेखु खण्डको लेदो हटाएर पृथ्वी राजमार्गसमेत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। धादिङबेसी जोड्ने वैकल्पिक सडक पनि सञ्चालनमा आएको छ।
यसैबीच, रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेको सरकारले जनाएको छ। पहिचान भएका शव परिवारलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवलाई डीएनएलगायत पहिचानका आधार सुरक्षित राखी सम्बन्धित निर्देशिकाअनुसार व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।
सरकारले विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था र आम नागरिकप्रति आभार व्यक्त गर्दै पीडितको मनोबल बढाउने र सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका काम परिणाम नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।



