बारा, २० भदौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बैजुरा पुलमा शनिबार दिउँसो करिब १२ बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
टिपरको ठक्करबाट मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ डुमरवाना निवासी ५२ वर्षीय देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते चौरेललाई तत्काल उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा इसिजी परीक्षण गर्दा चिकित्सकले दिउँसो १२ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव बयोधा अस्पतालमै राखिएको छ।
दुर्घटनापछि घटनास्थलमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टको कमाण्डमा ७ जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा ४ जनाको टोली खटिएको थियो।
दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध भने भएको छैन।
घटनापछि फरार भएका टिपर चालकको खोजी भइरहेकोमा दिउँसो सवा २ बजे जिल्ला बारा, प्रसौनी गाउँपालिका–१ प्रसौनी निवासी ५८ वर्षीय धुर्वदेव हजरा इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




