बारा,२१ भदौ । पर्साको वीरगञ्जस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि. (क्यासिनो) मा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना पाएपछि शनिबार राति टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा सखुवाप्रसौनी गाउँपालिका–६ मा बस्ने ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता एवम् डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए ।
त्यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।




