बारा, २२ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि पथलैया-वीरगन्ज सडक खण्डमा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार भदौ २२ गते बिहान पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको कुखुरा बोक्ने खाली बोलेरो पिकअप आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो।
डिभाइडर पार गरी सडकको दाहिनेतर्फ पल्टिएर भएको उक्त
दुर्घटनामा परी दुई जना घाइते भएका थिए। दुर्घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि तत्काल एल.एस. न्युरो अस्पताल परवानीपुर लगिएको थियो। उपचारका क्रममा सवारी चालक पर्साको वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुर बस्ने २२ वर्षीय जैमुदिन अन्सारीलाई बिहान ०८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
टाउकोमा गम्भीर चोट लागेका अन्सारीको इ.सी.जी. परीक्षणपछि डाक्टरले मृत घोषित गरेका थिए र उनको शव सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा सह-चालक पर्साकै विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्। बायाँ हात र बायाँ खुट्टामा चोट लागेका उनको अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि पनि सडक अवरोध भने नभएको र दुर्घटनाग्रस्त पिकअप गाडीलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




