काठमाडौं, २५ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनको राजीनामासँगै बालेन नेतृत्वको सरकारबाट बाहिरिने महोत्तरीकी उनी दोस्रो मन्त्री बनेकी छन्।
यसअघि महोत्तरी–२ बाट निर्वाचित दिपक साह छोटो समयमै श्रममन्त्री पदबाट हटाइएका थिए। स्वास्थ्य बीमा बोर्डमा निलम्बित अवस्थामा रहेकी आफ्नी पत्नीलाई पुनर्बहाली गराउन भूमिका खेलेको विषयमा विवादमा परेपछि प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाएका थिए। साहले जम्मा १४ दिन श्रममन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।
महोत्तरी–४ बाट निर्वाचित यादवलाई प्रधानमन्त्री शाहले २०८२ चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिएका थिए। यसअघि उक्त मन्त्रालयका लागि अमरेश यादवको नाम चर्चामा आए पनि उनले जिम्मेवारी अस्वीकार गरेपछि केही समय प्रधानमन्त्री शाह आफैंले मन्त्रालय सम्हालेका थिए। त्यसपछि यादवलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
मन्त्री बनेपछि यादवमाथि विशेषगरी बजारमा देखिएको ग्यास अभाव समाधान गर्न नसकेको भन्दै दबाब बढ्दै गएको थियो। उपभोक्ताले लामो समयसम्म ग्यासको अभाव झेलिरहँदा मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठ्दै आएको थियो।
त्यसमाथि उद्योगीहरूलाई लक्षित गर्दै यादवले दिएको अभिव्यक्ति हिजो मात्रै विवादमा परेको थियो। राजनीतिक तथा प्रशासनिक दबाबबीच उनको राजीनामाले बालेन नेतृत्वको सरकारमा महोत्तरीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको उपस्थिति थप कमजोर बनेको छ।





