बारा, २७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको कार्यलाई तीव्रता दिएको छ।
हालै सम्पन्न उपमहानगरपालिकाको ७० औँ कार्यपालिका बैठकले वडा नम्बर १, २ र २१ मा पहिचान गरिएका कुल १ हजार ६ सय ४९ परिवारको विवरण स्वीकृत गरेको हो।
‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०८३’ अनुसार तयार पारिएको उक्त सूचीमा २४ जना भूमिहीन दलित, २ सय ४८ जना भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७८ जना अव्यवस्थित बसोबासी रहेका छन्।
वडागत विवरणअनुसार वडा नम्बर २ मा सबैभन्दा बढी ८ सय ९३ परिवार प्रमाणीकरणमा परेका छन्, जसमा १७ भूमिहीन दलित, १ सय ६ भूमिहीन सुकुम्बासी र ७ सय ७० अव्यवस्थित बसोबासी छन्। यस्तै वडा नम्बर २१ बाट १ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्बासी र ६ सय ८ अव्यवस्थित बसोबासी गरी ६ सय ३५ परिवार तथा वडा नम्बर १ बाट ६ भूमिहीन दलित र १ सय १६ भूमिहीन सुकुम्बासी गरी १ सय २२ परिवार समेटिएका छन्।
वडा नम्बर १ मा भने अव्यवस्थित बसोबासीको सूची स्वीकृत भएको छैन। कार्यपालिकाबाट पारित विवरणलाई थप प्रशासनिक प्रक्रियाका लागि भूमि समस्या समाधान समिति, बारामा पठाउने तयारी भइरहेको र यसले स्थानीय स्तरमा लामो समयदेखि रोकिएको जग्गा व्यवस्थापन र स्वामित्व हस्तान्तरणको बाटो सहज बनाउने उपमहानगरपालिकाले अपेक्षा राखेको छ।





