बारा, २८ भदौ । वीरगञ्जको मुख्य सडकलाई दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले सडक सीमाभित्र परेका बाँकी संरचनाहरू हटाएर भोलि सोमबारसम्ममा मुख्य सडक विस्तारको कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
सडक डिभिजनका प्रतिनिधि इन्जिनियर दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान नजिकै देखिएका विवादहरू समाधान भइसकेका छन् भने नापजाँचको काम पनि एक साताभित्रै पूरा गरिनेछ ।
हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचनाहरू तथा घरधनीहरूले अधुरा छाडेका भागहरू डोजर लगाएर तीव्र रूपमा हटाउने काम भइरहेको छ । यसअघि डिभिजन कार्यालयले गत वैशाख ६ र ७ गते पहिलो चरणमा गण्डक क्षेत्र र मितेरी पुलबाट डोजर परिचालन गरी करिब एक हजार २०० घर तथा भवनका अगाडिका भाग हटाएको थियो ।
सडक सीमा खाली गर्न दिइएको २५ दिनको समयसीमाभित्र घरधनीहरूले आफैँ संरचना नहटाएपछि गत असार २० गतेदेखि दोस्रो चरणको डोजर अभियान सुरु गरी सडक फराकिलो पार्ने कार्यलाई पूर्णता दिन लागिएको हो ।





