बारा, २९ भदौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकतासँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार मेयर सिंहसहित सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कैकी छोरीलाई आफ्नी छोरी भन्दै झुटो कागजात तयार गरी नागरिकता दिलाएको अभियोगमा मेयर सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुख्य कसुरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।
यस प्रकरणमा सिन्धुपाल्चोककी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईका साथै गृह मन्त्रालयको छानबिन समितिका तत्कालीन संयोजक उपसचिव पुष्कर राना र सदस्य शाखा अधिकृत परशुराम पोखरेललाई प्रतिवादी बनाइएको थियो। विशेष अदालतको फैसलासँगै आरोपी सातै जनाले आरोपबाट सफाइ पाएका हुन्।





