बारा, ३० भदौ । स्व. योगेन्द्र प्रसाद साह कानुको छैटौँ पुण्य तिथिको अवसरमा बाराको कलैयास्थित योगशिला अस्पताल प्रा.लि.ले विशेष स्वास्थ्य शिविर तथा उपचार सेवामा भारी छुटको घोषणा गरेको छ।
अस्पतालले आगामी असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म कलैया उपमहानगरपालिका-१२ सितलपुरमा रहेको श्रीराम जानकी मन्दिरको परिसरमा बिहान ७ बजेदेखि १० बजेसम्म र योगशिला अस्पतालमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सेवा प्रदान गर्ने जनाएको छ। शिविर अवधिभर ओपिडी सेवा पूर्ण रूपमा निःशुल्क रहनेछ भने ल्याब परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यसका साथै अस्पतालले विभिन्न जटिल रोगका अप्रेसन (शल्यक्रिया) प्याकेजमा समेत सहुलियत दर निर्धारण गरेको छ। जसअनुसार पाठेघरको शल्यक्रिया २५ हजार, पित्तथैलीको शल्यक्रिया ३० हजार, एपेन्डिक्सको शल्यक्रिया २२ हजार ५ सय, हर्नियाको शल्यक्रिया २१ हजार ५ सय, भखन्दरको शल्यक्रिया १८ हजार ५ सय, र हाइड्रोसिलको शल्यक्रिया १५ हजार ५ रुपैयाँमा उपलब्ध गराइने अस्पतालले जनाएको छ।
त्यसैगरी लाइपोमा/सिवासियस सिस्ट १२ हजार ५ सय, ब्रेस्ट फाइब्रोएडेनोमा १६ हजार ५ सय, परिवार नियोजन/मिनील्याप ६ हजार ५ सय, र सिजेरियन अप्रेसन ३५ हजारको सहुलियत प्याकेज राखिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनले स्थानीय बासिन्दाहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई यस स्वास्थ्य सेवा तथा छुटको लाभ लिन आग्रह गरेको छ।





