बारा, ३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डमा मंगलबार दिउँसो भएको ईभी (विद्युतीय गाडी) दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ। दुर्घटनामा परेर बाराका दुई जना गम्भीर घाइते भएका छन् भने एक जनाको ज्यान गएको छ। बाराको परवानीपुर गाउँपालिका-३ लिप्निमालका ३२ वर्षीय सरफरोस मियाँको दुर्घटनामा घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, गाडीका चालक बाराको कलैया उपमहानगरपालिका-२४ बस्ने २० वर्षीय अमिर अन्सारीको टाउको, दायाँ खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। यस्तै, बाराकै महागढीमाई नगरपालिका-११ बस्ने २१ वर्षीया बबिया कुमारी यादवको दायाँ खुट्टालगायत शरीरमा चोट लागेको र मध्यम अवस्थामा हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र. ०३-००१ ज ०७२० नम्बरको विद्युतीय गाडी दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा ज्यान गुमाउने अन्य तीन जनामा नवलपरासी पूर्व कावासोती-१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम-४ का ४३ वर्षीय सुरज भट्टराई र पर्साको छिपहरमाई-२ का ४४ वर्षीय भुवनेश्वर साह कानु रहेका छन्। उनीहरूको साथमा भेटिएका राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मकवानपुर हेटौंडा-११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी-१ का २३ वर्षीय राजकुमार स्याङतान पनि गम्भीर घाइते भएका छन्। स्याङतान र तामाङ दुवैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले अत्यन्तै अप्ठ्यारो खोंचबाट घाइते तथा मृतकहरूको उद्धार गरेको थियो। दुर्घटनाको यकिन कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।





