बारा, ०२ असोज । सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा (४) बमोजिम धनुषाको जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मन्दिर क्षेत्रलाई “रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र” घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ऐतिहासिक मन्दिरको संरक्षण र यसलाई युनेस्को को विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यका साथ चार किल्ला तोकेर यो निर्णय गरिएको हो।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको चार किल्ला विवरणअनुसार, पूर्वमा जनकपुरको भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय हुँदै दक्षिणतर्फ गएको सडक परिक्रमा पथलाई तोकिएको छ।
पश्चिमतर्फ भमरपुरा चोक हुँदै पश्चिम गएको श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूप, हनुमान मन्दिर हुँदै उत्तरतर्फ गएको परिक्रमा पथ तथा उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोक (राजा जनक स्मारक) हुँदै गएको मधेश प्रदेश भवन, मिल्स एरिया, भानु चोकसम्मको सडक परिक्रमा पथ समेटिएको छ। यस्तै, दक्षिणतर्फ मुरली चोक (विद्यापति स्मारक) हुँदै भमरपुरा चोकसम्म गएको परिक्रमा पथको सडकलाई क्षेत्र निर्धारण गरिएको छ।
यो क्षेत्र घोषणा भएसँगै अब मन्दिर आसपास भवन तथा अन्य भौतिक संरचना निर्माण गर्दा सरकारले तोकेको पुरातात्त्विक मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ।






