बारा, ०३ असोज । नेपालीहरूका लागि संविधान दिवस गौरव र ऐतिहासिक दिन रहेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संविधान नागरिकका इच्छा, आकांक्षा र तत्कालीन राजनीतिक अवस्थाको समाधानका आधारमा नागरिकका हक–अधिकार सुनिश्चित गर्न जारी गरिने देशको मूल कानुन भएको बताए।
“संविधान त्यसै लेखिँदैन। नागरिकका इच्छा, आकांक्षा र तत्कालीन राजनीतिक अवस्थाको राजनीतिक समाधानसँगै नागरिकका हक–अधिकार सुनिश्चित गर्न संविधान जारी हुन्छ। संविधान देशको मूल कानुन हो। यसैका आधारमा राज्यका सम्पूर्ण संयन्त्र सञ्चालन हुन्छन्,” उनले भने।
संविधान दिवसको महत्त्वलाई स्मरण गर्दै गौरवका साथ मनाउने नेपाल सरकारको निर्णयअनुसार देशभरका जिल्ला तथा स्थानीय तहमा र काठमाडौंमा मूल समारोह समितिमार्फत संविधान दिवस भव्यताका साथ मनाइएको उनले बताए।अधिकारीले संविधान प्राप्तिका लागि आफ्नो जीवन बलिदान गर्ने सहिद तथा जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
नेपालमा गणतन्त्र र लोकतन्त्र स्थापना गर्न विभिन्न कालखण्डमा सहिद तथा नेपाली नागरिकले ठूलो बलिदान दिएको उल्लेख गर्दै उनले दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्ने उद्देश्यले नेपालको संविधान २०७२ जारी भएको बताए। संविधान जारी भएको झण्डै ११ वर्ष पूरा भएको पनि उनले उल्लेख गरे।
उनले नेपालमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना व्यक्त गरे।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहले ल्यापटपमा रहेको ब्यानरको बटन थिचेर गरेका थिए।
“दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति साहले संविधान दिवसका अवसरमा स्काउट तथा विद्यालयका विद्यार्थीलाई सहभागी गराई नगर परिक्रमा तथा विद्यालय सरसफाइ गर्ने कार्यक्रम तय गरिए पनि वर्षाका कारण सफल हुन नसकेको बताए। सोही कारण जिल्ला प्रशासन कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको उनले जानकारी दिए।
उनले संविधान दिवसका अवसरमा आ–आफ्नो कार्यालयमा साँझ दीप प्रज्वलन गरी हर्षोल्लासका साथ दिवस मनाउन आग्रह गरे।
जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धान बाराका उप-निर्देशक सरोज निरौला, पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओम साह लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुशीलप्रसाद यादवले गरेका थिए।






