बारा, ०३ असोज । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
आगामी अक्टोबर २६ तारिख (सोमबार) देखि सुरु हुने यस प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगितामा विभिन्न ८ वटा टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
तालिका अनुसार २७ अक्टोबरमा विराटनगर किंग्स र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। लीग चरणका खेलहरू १५ नोभेम्बरसम्म चल्नेछन्।
लीग चरणको समाप्तिपछि १७ नोभेम्बरमा पहिलो क्वालिफायर (शीर्ष दुई टोलीबीच), १८ नोभेम्बरमा एलिमिनेटर (तेस्रो र चौथो स्थानका टोलीबीच) र १९ नोभेम्बरमा दोस्रो क्वालिफायर खेल हुने तालिका रहेको छ।
प्रतियोगिताको फाइनल खेल आगामी २१ नोभेम्बरमा हुनेछ। साधारण दिनहरूमा एउटा खेल दिउँसो ४:३० बजे हुनेछ भने डबल हेडर हुने दिनहरूमा पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल दिउँसो ४:३० बजे सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ।






