बारा,०४ असोज । बाराको विश्रामपुर गाउँपालिका-१ कल्याणपुरस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाबाट खटिएको टोलीले आइतबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुरकुरे, सुर्ती, जुत्ता, लत्ताकपडालगायतका सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार उक्त क्रममा २ थान साइकल, १ थान मोटरसाइकल र १ थान स्कुटरसमेत बरामद गरिएको छ। बरामद सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ७ लाख ९५ हजार ५०० रुपैयाँ रहेको उनले जानकारी दिए ।
बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सा बुझाउने प्रक्रियामा रहेको छ ।






