बारा, ०५ असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै असोज २ गते भएको सवारी दुर्घटनामा घाइते भएका एक युवकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक बाटोमा सर्प देखिएको थियो। मोटरसाइकलको पछाडि सवार जितपुर सिमरा–८ का २४ वर्षीय राजु सहनी अत्तालिएर मोटरसाइकलबाट हाम फाल्दा गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै उपचारका लागि उनलाई न्यूरो अस्पताल, काठमाडौँ पठाइएको थियो। अस्पतालमा सघन उपचार जारी रहेकै अवस्थामा उपचारका क्रममा असोज ४ गते आइतबार १२:५४ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






