बारा, ०५ असोज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले ३० केजी लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
गए राति पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ०१ मलाही टोल स्थित केही व्यक्तिहरूले गाँजा ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीलाई देख्नसाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको थियो। सो क्रममा घट्नास्थलबाट पटेर्वासुगौली गाउँपालिका वडा नं. ०१ बस्ने ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनीलाई नियन्त्रणमा लिइएको हो।
थप अनुसन्धानको क्रममा सोही स्थान बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरी समेत उक्त ओसारपसारमा संलग्न रहेको खुल्न आएपछि निजलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन्।






