बारा, ३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित मेनरोडमा रहेको सम्झना स्टाफ होटेलमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय शेरबहादुर खड्का रहेका छन्।
नेपाल प्रहरीका अनुसार सोही स्थानका ठुले राईका छोरा अन्दाजी २२ वर्षीय आयुष राईले आपसी झगडाका क्रममा खड्कामाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।
घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि धारिलो हतियार प्रहार गर्ने आरोपित आयुष राई फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे खोजतलासका साथै थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






