बारा, ०६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री नियुक्त भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अपराह्न ४:१५ बजेको उडानमार्फत प्रस्थान गर्ने प्रधानमन्त्री शाहको टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले यही असोज ८ गते (सेप्टेम्बर २४) महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुको साथै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमण पूरा गरी प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने छन्।






