बारा, ०९ असोज । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि शानदार जित हात पारेको छ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल तयार पारेको थियो। अफगानिस्तानका लागि नजिबुल्लाह जद्रान र फैसल खानले समान ३०–३० रन बनाए पनि नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामू उनीहरूले ठूलो स्कोर बनाउन सकेनन्।
नेपालतर्फबाट कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए भने ललित राजवंशीले ३ विकेट हात पारेका थिए। अफगानिस्तानले दिएको १०३ रनको सामान्य विजयलक्ष्य पछ्याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेको नेपालले निर्धारित लक्ष्य पुरा गर्दै खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्न सफल भयो।






