Monday, October 5, 2026

जगरनाथपुरका दुई विद्यालयमा समावेशी विद्यालय सुधार योजनाबारे अभिमुखीकरण

Advertisement
Advertisement

पर्सा, १९ असोज। पर्साको जगरनाथपुर गाउँपालिकाका दुई विद्यालयमा समावेशी तथा बालमैत्री विद्यालय सुधार योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको शैक्षिक वातावरणलाई सुरक्षित, समावेशी र बालमैत्री बनाउँदै सबै बालबालिकाका लागि समान सिकाइ अवसर सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर सिरा र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानीमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा विद्यालय सुधार योजना निर्माण, समीक्षा, परिमार्जन तथा कार्यान्वयनका विषयमा सहभागीलाई जानकारी गराइएको थियो। विद्यालयको वास्तविक अवस्था, आवश्यकता र स्थानीय परिस्थितिको पहिचान गरी व्यवहारिक तथा प्रभावकारी योजना निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।

विद्यालय सुधार योजना भौतिक पूर्वाधारमा मात्र केन्द्रित नभई शिक्षण–सिकाइको गुणस्तर, बालबालिकाको सहभागिता, लैङ्गिक समानता, अपाङ्गता समावेशी शिक्षा, बाल संरक्षण तथा उत्तरदायी विद्यालय व्यवस्थापनसँग जोडिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए।

त्यस्तै, जलवायु परिवर्तन, वातावरणीय जोखिम, विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका विषयलाई समेत विद्यालय सुधार योजनामा समेट्नुपर्नेबारे छलफल गरिएको थियो। विद्यालयमा सम्भावित जोखिमको पहिचान, विपद् पूर्वतयारी तथा सुरक्षित वातावरण निर्माणका उपायबारे पनि अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि तथा अभिभावकको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयमा देखिएका समस्या, चुनौती तथा तत्काल सुधार गर्नुपर्ने विषयबारे सुझाव दिएका थिए।

कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेले गर्नुभएको थियो। उहाँले विद्यालय सुधार योजना शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयको समग्र व्यवस्थापन सुधारको महत्वपूर्ण आधार भएको बताउनुभयो।

विद्यालय सुधार योजनालाई कागजमा मात्र सीमित नराखी विद्यालयको वास्तविक आवश्यकता र अवस्थासँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पाण्डेले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

विद्यालयको आवश्यकता र अवस्थाअनुसार सुधार योजनाको नियमित समीक्षा तथा परिमार्जन गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। सबै बालबालिकाले सुरक्षित, सम्मानजनक र समान वातावरणमा सिक्न पाउने अवस्था सिर्जना गर्नु नै समावेशी विद्यालय सुधार योजनाको मुख्य उद्देश्य हुनुपर्ने पाण्डेले बताउनुभयो।

अभिमुखीकरणपछि दुवै विद्यालयले आफ्ना विद्यमान सुधार योजनाको समीक्षा गरी आवश्यक विषय थप तथा परिमार्जन गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षमा सुधार ल्याउनुका साथै सबै बालबालिकाका लागि सुरक्षित, समावेशी, बालमैत्री र गुणस्तरीय सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर