बारा, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट हतियार बरामद गरिएको छ।
गए राति करिब १ बजेको समयमा जनकपुरबाट मदनपुरस्थित आफ्नो घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी घाइते भएका कबिलासी नगरपालिका–०३ मदनपुर निवासी ३३ वर्षीय तुलसी ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ।
दुर्घटनालगत्तै जाँच गर्ने क्रममा ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल फेला परेपछि प्रहरीले हतियार बरामद गर्नुका साथै उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।






