बारा, २० असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको विभिन्न धार्मिक अनुष्ठान तथा साइतहरूको तालिका सार्वजनिक गरेको छ।
समितिका अनुसार घटस्थापना असोज २५ गते आइतबार पर्नेछ । शुभसाइत बिहान ११:४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले शास्त्रीय मान्यता अनुसार घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति पूजा गर्नुपर्ने जनाइएको छ।
यसैगरी, असोज २६ गते सोमबार बिहान १०:०७ बजे पश्चिम मोहडा फर्काएर नयाँ झण्डा फेर्ने शुभसाइत रहेको छ भने असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा सञ्चालन हुनेछ।
बडादशैंको मुख्य दिन विजया दशमीका अवसरमा बिहान ८:४९ बजे देवी विसर्जनको साइत तय गरिएको छ। देवी विसर्जनपश्चात् मान्यजनबाट विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको छ।
टीका लगाउने क्रममा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशा फर्किएर बस्नुपर्ने समितिले स्पष्ट पारेको छ।






