काठमाडौं, २० असोज। पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक मुस्लिम जोडी प्रवेश गरेको दाबी गरिएको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
कोषको कार्यसम्पादन समितिको बुधबार बसेको आकस्मिक बैठकले घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको छ।
कोषका अनुसार हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति रहेको जानकारी हुँदा हुँदै पशुपतिनाथ मन्दिरमा असोज १९ गते ‘प्रियङ्का सनी’ नामको टिकटक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको थियो।
घटनाको सत्यतथ्य पत्ता लगाउन परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा परिषद् सदस्य गङ्गासागर वानियाँ, सङ्गीता कुमारी राम, केदारमान भण्डारी र रूपा शाही वास्तोला सदस्य रहेका छन्। समितिलाई एक साताभित्र छानबिन प्रतिवेदन पेस गर्न समय दिइएको कोषले जनाएको छ।
बैठकले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णयसमेत गरेको छ। त्यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने कोषले जनाएको छ।
घटनाका क्रममा मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारका विभिन्न निकायबाट खटिएका सुरक्षाकर्मीबाट भएको कमजोरीप्रति कोषले क्षमायाचना गर्ने निर्णय गरेको छ।
यस्तै, घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्ने संघ–संस्था र नागरिकलाई धन्यवाद दिँदै उनीहरूले उठाएका चासोलाई सम्बोधन गर्न कोष प्रतिबद्ध रहेको जनाएको छ।
कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्नुका साथै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आम नागरिकको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।
कोषले घटनाबारे आधिकारिक सूचना र तथ्यमा विश्वास गर्न तथा धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ।







