काठमाडौं, २१ असोज। पशुपतिनाथ मन्दिरको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका मुस्लिम दम्पती प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई बुधबार इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।
केही दिनअघि प्रियंका र ओसीम पशुपतिनाथ मन्दिर परिसरमा पुगेर भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको विषयसमेत चर्चामा आएको थियो। सोही विषयलाई लिएर उनीहरू गैरहिन्दू भएर पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको भन्दै प्रश्न उठेको थियो।
सामाजिक सञ्जालमा भिडियो चर्चामा आएपछि सांसद खुस्बु ओलीले समेत उनीहरूको मन्दिर प्रवेशबारे प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको हो।
ओसीम इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउको वास्तविक कारण, मन्दिरको निषेधित क्षेत्रमा प्रवेश भएको वा नभएको तथा घटनासँग सम्बन्धित अन्य विषय अनुसन्धानबाट स्पष्ट हुने प्रहरीले जनाएको छ।






