बारा, ०१ कात्तिक । सरकारले भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेड द्वारा उत्पादित चर्चित ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात, पैठारी र बिक्री वितरणमा तत्कालका लागि पूर्ण रोक लगाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३ कार्तिक १ गते सूचना जारी गर्दै बजारमा रहेका जुनसुकै ब्याच वा उत्पादन मितिका प्रियागोल्ड बिस्कुटहरू तत्काल फिर्ता गरी नष्ट गर्न सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको हो।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७, २०२६ मा जारी गरेको सूचना अनुसार, भारतमा उपभोक्ताको उजुरीपछि कारखानामा गरिएको निरीक्षणमा मानिसले खाने बिस्कुटमा रेसाको स्रोतका रूपमा गाईवस्तुको दानाका लागि प्रयोग हुने चोकर प्रयोग गरिएको फेला परेको थियो। उक्त चोकर राखिएका जुटका बोराहरूमा स्पष्ट रूपमा “गाईवस्तुको दानाका लागि” र “मानव उपभोगका लागि नभएको” भनी उल्लेख गरिएको पाइएको थियो।
साथै, कारखानाको सरसफाइ, कच्चा पदार्थको भण्डारण तथा कर्मचारीको स्वच्छतामा समेत गम्भीर कमजोरीहरू भेटिएपछि उक्त कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाएको छ।
यस घट्नालाई ध्यानमा राख्दै नेपालमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागका महानिर्देशक संजिव कुमार कर्णको उपस्थितिमा बसेको आकस्मिक बैठकले मानिसको स्वास्थ्य सुरक्षाका लागि उक्त बिस्कुटको नाकाबाट प्रवेश अनुमति तथा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
विभागले सबै आधिकारिक पैठारीकर्ता तथा व्यवसायीहरूलाई बजारबाट बिस्कुट फिर्ता ल्याई स्थानीय तह, प्रशासन र विभागका प्रतिनिधिको रोहबरमा नष्ट गरी अभिलेखीकरण गर्न भनेको छ। यो आदेशको बेवास्ता वा उल्लङ्घन गरेमा प्रचलित ऐन-कानुन अनुसार कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।







