बारा, ३१ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हिन्दू धर्मावलम्बीको महान् पर्व विजयादशमी धार्मिक आस्थाको विषय मात्र नभई मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव भएको बताएका छन्।
विजयादशमी २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सत्य, न्याय, धर्म र सदाचार अन्ततः विजयी हुन्छन् भन्ने युगीन सन्देश बोकेको यस महापर्वले मानिसलाई आफ्नो आचरण र व्यवहारको आत्मसमीक्षा गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने उल्लेख गरे । विजयादशमीले असत्य, अन्याय, विभेद, हिंसा र नकारात्मक प्रवृत्तिमाथि मानवता, विवेक र नैतिक शक्तिको विजय सुनिश्चित हुने विश्वासलाई थप बलियो बनाउने उनको भनाइ छ।
उपराष्ट्रपति यादवले विजयादशमीले समाजमा सहिष्णुता, आत्मानुशासन, संयम र कर्तव्यप्रतिको निष्ठालाई प्रवर्द्धन गर्ने बताएका छन्। लोभ, घृणा, अहङ्कार, ईर्ष्या र वैमनस्यजस्ता दुर्गुण त्यागी सहकार्य, समर्पण, सद्भाव र मानवीय संवेदनाको मार्गमा अघि बढ्न दसैँले प्रेरणा दिने उल्लेख गर्दै उनले व्यक्तिको आन्तरिक शुद्धीकरण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम राख्न यस पर्वको विशेष महत्त्व रहेको बताए।
दसैँलाई पुनर्मिलन र आत्मीयताको महापर्वका रूपमा चित्रण गर्दै उपराष्ट्रपतिले शिक्षा, रोजगारी वा व्यवसायका कारण परिवार र समुदायबाट टाढा रहेका व्यक्तिहरूले यस अवसरमा प्रियजनसँग भेटघाट गरी सम्बन्ध नवीकरण गर्ने परम्परा रहेको स्मरण गरे। ज्येष्ठको आशीर्वाद, अग्रजप्रतिको सम्मान र कनिष्ठप्रतिको स्नेह आदानप्रदानले पारिवारिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने भन्दै उहाँले यो पर्व धार्मिक संस्कारमा मात्र सीमित नभई सामाजिक एकता र मानवीय सम्बन्धको उत्सवका रूपमा स्थापित भएको बताएका छन्।
हाम्रा परम्परागत संस्कार, लोककला, लोकसङ्गीत र सांस्कृतिक अभ्यासले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको चर्चा गर्दै उपराष्ट्रपति यादवले यस्ता सांस्कृतिक आयामको संरक्षणमा दसैँको ठूलो योगदान रहेको उल्लेख गरे। आजको परिवर्तित विश्व परिदृश्यमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना अझ बढी आवश्यक रहेको औँल्याउँदै उहाँले विभाजन र वैमनस्यताभन्दा माथि उठेर समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
उपराष्ट्रपतिले विजयादशमी, २०८३ ले प्रत्येक नेपालीको जीवनमा आशा, ऊर्जा र सफलताको नयाँ अध्याय प्रारम्भ गरोस् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।





