बारा, ०३ कात्तिक । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर महानवमीका अवसरमा आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ।
वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खोलिने परम्परा अनुसार आज दिनभर भक्तजनहरूले तलेजु भवानीको पूजा, आराधना तथा दर्शन गर्न पाउने भएका हुन्।
हनुमानढोका दरबार हेरचाह अड्डाले सरोकारवाला निकायहरूसँग गरेको छलफल र निर्णय अनुसार बिहानैदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खोलिएको कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् बडादशैँको महानवमीका दिन मात्र खुल्ने यस ऐतिहासिक एवं धार्मिक मन्दिरमा भवानीको दर्शनका लागि बिहानैदेखि हजारौँ भक्तजनहरूको बाक्लो उपस्थिति र घुइँचो लागेको छ।





