बारा, १६ कात्तिक । नेपाल आयल निगमले बजारमा रहेका विभिन्न एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
एलपी ग्यासको बिक्री वितरणलाई थप व्यवस्थित र सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले यो नीति लिइएको निगमले जनाएको छ।
हाल छुट्टाछुट्टै नाम र ब्रान्डमा सञ्चालन भइरहेका ग्यास उद्योगहरूलाई एकापसमा गाभिन आग्रह गर्दै निगमले सबै सम्बन्धित उद्योगहरूलाई औपचारिक पत्र पठाइसकेको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उद्योगहरूलाई यथाशीघ्र गाभिने (मर्जरको) स्पष्ट कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
ग्यास उद्योगहरूको संख्या घटाएर गुणस्तर, सुरक्षा र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निगमले कदम चालेको हो।





