कलैया, २३ असार। बारा प्रहरीले पेट्रोल, डिजेल र मट्टीतेलसहित करिब ८ हजार लिटर चोरीको तेल नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२२ हलेसि पेट्रोल पम्प नजिकै विष्णुराज ठकुरीको जग्गामा सोही ठाउँ वस्ने २२ वर्षीय सुरेन आलेले संचालन गरेको गाडी वास ग्यारेज पछाडीबाट उक्त तेल प्रहरीले बरामद गरेको हो।
ग्यारेज पछाडी खालि ठाउँमा तेल ट्याङकरबाट तेलहरु चोरी गरि बेचबिखन भईरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले ना. १ क २८३६ नं. को मिनि ट्रकलाई नियन्त्रणमा लिएको हो। उक्त मिनी ट्रकका चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ फत्तेपुर बस्ने २१ वर्षीय सुवास चौधरीले तेलहरु ट्रकमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ५ हजार ७ सय ९५ लिटर बनस्पति जन्य तेल जस्तो देखिने अखाध्य पदार्थ, एक हजार लिटर पेट्रोल, ६ सय लिटर डिजेल र ६ सय लिटर मट्टितेल बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान गरेर कारबाही पक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




