कलैया, २८ असार । कही नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान प्रादेशिक अस्पताल कलैयाले चरितार्थ गरेको छ। यहाँ धेरै किसिमको अनियमितता रहेको छ। नेपाल सरकारले सरकारी अस्पताललाई वर्गीरण गरी निशुल्क दिने भनिएको ९८ प्रकारको औषधि अस्पतालको फार्मेसीमा अभाव रहेको छ। जसले गर्दा उपचारमा आउने बिरामीहरू नीजि फार्मेसीमा औषधि किन्न बाध्य भएका छन्।
फार्मेसीले आवश्यक औषधि पर्याप्त मात्रामा खरिद नगर्दा बिरामी तथा सेवाग्राहीहरु भने निजी फार्मेसीबाट औषधि किन्न बाध्य भएका छन्। लामो समयदेखि सामान्य सेफट्राजोन, जीवनजल, रुघाखोकी, ज्वरोको जस्ता औषधि पनि अस्पतालको फार्मेसीमा छैन।अस्पतलमा उपचार गराउन पुगेका अधिकांश बिरामीले अस्पतालको फार्मेसीमा औषधि नहुँदा बाहिरबाट खरिद गर्नु परेको छ।
सरकारले ९८ प्रकारका नि.शुल्क औषधि वितरण गरेपनी कलैया अस्पतालको फार्मेसीमा ४० देखि ५० प्रकारको औषधि रहेको फार्मेसीका एक कर्मचारीले बताएका छन्। सर्वसाधारणलाई सहज र सर्वसुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सरकारी अस्पतालले आफ्नै परिसरमा फार्मेसी सञ्चालन गरेको छ।
शल्यक्रियाका लागि,आई.सि.यु वार्ड,महिला वार्ड,इमर्जेन्सी वार्डमा राखिएका बिरामीहरुका लागी औषधि समेत अस्पतालले सञ्चालन गरेपनि फर्मेसीमा नपाइने बिरामी र बिरामीका कुरुवाहरूले गुनासो गरेका छन्। फार्मेसीमा औषधि उपलब्ध नहुँदा चर्को मूल्यमा बाहिरको मेडिकलबाट किन्नुपर्ने बाध्यता भएको छ।
नेपाल सरकारले छुट दिने भनिएको गरिब,विपन्न, हिंसापीडित,ज्येष्ठ नागरिकहरू अपांगता भएका व्यक्तिहरू औषधिमा छुट पाइने ठूलो आशा बोकेर गएका हुन्छन्। तर अस्पतालको फार्मेसीमा सामान्य किसिमका औषधिको पनि अभाव हुनु दुःख लाग्दो कुरा भएको अस्पतालमा उपचार पुगेका कुरुवा दिपेन्द्र यादवले बताए । यता डेङुका उपचार गराउन आएका साजिर बाबुलाई चिकित्सकले ८ वटा औषधि लेखेका थिए। तर फार्मेसीमा एउटा औषधि मात्र पाएको छु,फार्मेसीमा नपाउदा दुख लागेको अभिभावक हुसेद आलम बताउँछन् ।
अस्पताल बाहिर सञ्चालनमा रहेका फार्मेसी र अस्पताल प्रशासनको मिलेमतोमा अस्पतालले सञ्चालन गरेका फार्मेसीमा पर्याप्त औषधि खरिद नगर्दा अस्पताल फार्मेसीमा औषधिको अभाव भएको अवस्था सिर्जना भएको छ।
स्वास्थ्य बिमा गरेका ज्येष्ठ नागरिकहरूले पनि सास्ती खेप्नुपरेको छ। ज्येष्ठ नागरिकहरू बिमाबाट निःशुल्क उपचार गर्ने आशा बोकेर गएका हुन्छन् तर स्वास्थ्य चेकजाँच अस्पतालमा भए पनि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नभएपछि बाहिरबाट चर्को मूल्यमा अौषधि किनेर उपचार गर्नुपर्ने बिरामीहरूको दुखेसो छ। अस्पतालमा जाँच गराउन आउने दैनिक बिरामीको संख्या ५ सय भन्दा माथी रहेको छ । त्यसमध्ये करिब २ सय जना विमितहरु रहेका छन्
।
यता यस विषयमा बुझ्दा फार्मेसीका इन्चार्ज हंसिका यादवले दुई तीन दिनदेखि औषधि सकेको जनाइन्। औषधि किन्न आदेश गरि सकेको उनले जनाए। आपूर्ति वाला औषधि दुइ तीन दिन भित्र आउछ, उनले भनिन्।