कलैया, ३० पुस। कर्मचारी आन्दोलनका कारण बाराको सिम्रौनगढ नगरपालिकाको कामकाज विगत दुई दिनदेखि ठप्प भएको छ।
मंगलबार नगर उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरामाथि कार्यालय परिसरमै दुर्व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले सुरक्षा सुनिश्चित नभएसम्मका लागि अनिश्चितकालीन रूपमा सेवा प्रवाह स्थगित गरेका हुन्।
उक्त घटनापछि आक्रोशित कर्मचारीहरूले आन्दोलन सुरु गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
आन्दोलनरत कर्मचारीले जारी गरेको विज्ञप्ति अनुसार कर्मचारीहरूको सुरक्षा, सम्मान तथा सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थासहित अत्यावश्यक सेवाबाहेकका सबै सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ।





