कलैया, ७ फागुन। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले फागुन ७ को ऐतिहासिक महत्त्वलाई स्मरण गर्दै नागरिकको सुख, शान्ति र समृद्धिको कामना गरे।
उनले भने, “आजको दिनले हामीलाई संविधानमा निहित सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यलाई अक्षुण्ण राख्दै गरिबी, अशिक्षा, बेरोजगारी एवं विभेद अन्त्य गर्ने दिशामा एकजुट भएर अघि बढ्न प्रेरित गर्दछ । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले आदर्श आचरण, सकारात्मक सोच र जिम्मेवारपूर्ण व्यवहारलाई आत्मसात् गर्न आवश्यक छ ।”
उपराष्ट्रपति यादवले नागरिक अधिकारको रक्षा र समान अवसरको सुनिश्चितता गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निभाउनुपर्ने उल्लेख गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल बनाउनु नै आजको मुख्य आवश्यकता रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ ।





