कलैया, ०९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी नविन चौधरीका अनुसार निर्वाचन क्षेत्र अनुसार फरक–फरक मिति र स्थानमा तालिम सञ्चालन हुने गरी तालिका सार्वजनिक गरिएको छ।
तालिमको तालिका अनुसार निर्वाचन क्षेत्र नं. १ का लागि फागुन १० गते कोल्हवीस्थित श्री अनुपदिपनी माविमा, क्षेत्र नं. २ का लागि फागुन ११ गते बरियारपुरको श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माविमा प्रशिक्षण हुनेछ। त्यसैगरी क्षेत्र नं. ३ का लागि फागुन १२ गते कलैयाको श्री ३ चन्द्र मावि र क्षेत्र नं. ४ का लागि फागुन १३ गते जितपुरसिमरा-९ को श्री नेरामावि छातापिपरामा तालिम सञ्चालन हुने कार्यालयले जनाएको छ। सबै क्षेत्रको तालिम बिहान ११:०० बजेबाट सुरु हुने तय गरिएको छ।
प्रशिक्षणमा सहभागी हुन आउने कर्मचारीहरूले अनिवार्य रूपमा बैंक खाताको स्पष्ट विवरण खुल्ने चेकको फोटोकपी, प्यान कार्डको फोटोकपी र हाल बहाल रहेको पदको नियुक्ति पत्रको फोटोकपी साथमा ल्याउनुपर्नेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन मतदान प्रक्रिया, कानुनी प्रावधान र प्राविधिक पक्षबारे कर्मचारीहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।






