कलैया, ११ फागुन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का क्रममा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन प्रचारप्रसारका कुनै पनि कार्यमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै दल वा उम्मेदवारका झण्डा र निर्वाचन चिह्न बोकाउने, सांस्कृतिक कार्यक्रम र र्यालीमा सहभागी गराउने, तथा अमुक दल वा उम्मेदवार विरुद्धका गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न सचेत गराएको छ। साथै, निर्वाचन चिह्न अंकित भेष्ट, टिसर्ट, टोपी र लोगो जस्ता सामग्रीहरू प्रदर्शन गर्ने कार्यमा समेत बालबालिकालाई संलग्न गराउन नपाइने आयोगले जनाएको छ ।
चुनावी अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको र विद्यालय समयमा शैक्षिक कार्यमा अवरोध पुग्ने गरी विद्यालय नजिकै कार्यक्रमहरू आयोजना गरिएको उजुरी प्राप्त भएपछि आयोगले यस्तो कदम चालेको हो। निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१) को खण्ड (ट) ले निर्वाचन प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिकाको प्रयोगलाई पूर्णतः निषेध गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिताको उल्लंघन भएमा सम्बन्धित उम्मेदवार वा दललाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी नै रद्द गर्नेसम्मको कारबाही हुन सक्छ।
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुनु नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको समेत प्रतिकूल हुने भएकाले आयोगले यसप्रति सबै दल र मतदातालाई जिम्मेवार बन्न आग्रह गरेको छ।
बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कुनै पनि राजनीतिक गतिविधि नगर्न आह्वान गर्दै आयोगले बालबालिकाको अधिकार संरक्षण र परिपालना गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको समेत ध्यानाकर्षण गराएको छ।





