Friday, June 5, 2026

राजनीतिमा गाली र तोडफोड होइन, जोड्ने र सम्हाल्ने कुरा आवश्यक छ: गगन थापा

spot_img

कलैया, १६ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिमा उत्तेजना फैलाउने र समाजलाई विभाजित गर्ने प्रवृत्तिको सट्टा सहमति र एकताको आवश्यकता रहेको बताएका छन्।

बाराको प्रसौनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिने नकारात्मक कुराहरूले समाजलाई कता लैजाँदैछ भन्नेमा चिन्ता व्यक्त गरे।

सम्बोधनका क्रममा उनले भने, “आजभोलि गाडिदिन्छु, हान्दिन्छु, जलाइदिन्छु, ठोकिदिन्छु भन्ने जस्ता उत्तेजित कुराहरू चाँडै भाइरल हुन्छन्, तर म मिलाउने र सम्हाल्ने कुरा गरिरहेको छु। मिलाउने कुराहरू सायद त्यति सजिलै भाइरल नहोलान्, तर देशलाई अहिले यही आवश्यक छ।”

थापाले अबको ५ वर्षलाई नेपालको इतिहासकै सबैभन्दा स्वर्णिम समय बनाउने संकल्प व्यक्त गरे। उनले चुनावका बेला जस्तै चुनाव जितेपछि पनि दिनको १८–२० घण्टा काम गरेर परिणाम निकाल्ने र देशका युवाहरूलाई स्वदेशमै गौरव गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाए।

अहिलेको नयाँ राजनीतिक शक्तिको उदय र कोलाहललाई लक्षित गर्दै थापाले २०६४ सालको संविधानसभा निर्वाचनको स्मरण गरे। “त्यतिबेला पनि नयाँ भन्दै आएकाहरूले भित्तामा नयाँ नेपाल जिन्दाबाद र पुरानो मुर्दावाद लेखेका थिए, तर न नयाँ बन्यो न पुरानो रह्यो” थापाले भने।

उनले सामाजिक सञ्जालको होहल्ला र नयाँ भर्सेस पुरानोको विवादमा मात्र नभई वास्तविक मुद्दा र काम गर्ने क्षमतामा ध्यान दिन आग्रह गरे। थापाले कांग्रेसले जहिले पनि समाजलाई जोड्ने र सबैलाई समेटेर अगाडि बढ्ने राजनीति गरेको दाबी गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई स्पष्ट बहुमत दिन अपिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर